प्रधान सम्पादकको आवश्यकता

कान्तिपुर मिडिया ग्रुपद्वारा प्रकाशन हुने कान्तिपुर दैनिकले तीन दशकदेखि राजनीतिक स्थिरता, सुशासन, पारदर्शिता, जवाफदेहिता, लगानी र रोजगारी सिर्जनाका साथै खुला अर्थतन्त्रका विषयमा वकालत गर्दै आएको छ। स्वतन्त्र, निडर, निष्पक्ष र सार्वजनिक हितको पत्रकारिताको मान्यतामा विश्वास राख्ने कान्तिपुर दैनिकले प्रत्येक दिन प्रिन्ट र डिजिटल प्लाटफर्ममार्फत लाखौँ पाठकसम्म पहुँच राखेको छ। पछिल्लो समय नेपालमा द्रुत गतिमा परिवर्तन भइरहेका राजनीतिक, आर्थिक र प्राविधिक परिवेशअनुसार हाम्रा पाठकहरू पनि प्रिन्ट संस्करणबाट डिजिटलतर्फ स्थानान्तरण हुँदै गइरहेका छन्। यही सन्दर्भलाई मध्यनजर गर्दै कान्तिपुर दैनिकलाई नयाँ दिशामा अगाडि बढाउन कान्तिपुर मिडिया ग्रुप दूरदर्शी प्रधान सम्पादकको खोजीमा छ।

डिजिटल रणनीतिसहित नेपालको पत्रकारितालाई आगामी दशकमा थप परिष्कृत तथा समृद्ध बनाउने दृष्टि भएका योग्य तथा अनुभवी पत्रकारले यसमा आवेदन दिन सक्नेछन्। प्रधान सम्पादकले कान्तिपुर दैनिक र यसका डिजिटल माध्यमहरूको पूर्ण रूपमा सम्पादकीय नेतृत्व गर्नेछन्, जसले अखबारको विरासतको सम्मान गर्दै डिजिटल भविष्यतर्फ अग्रसर हुने कार्यको नेतृत्व गर्नेछ।

डिजिटल दुनियामा गलत सूचना तथ्यभन्दा छिटो फैलिने अहिलेको समयमा हाम्रा पाठक तथा स्रोतालाई विश्वसनीय सूचना दिनु हाम्रो थप जिम्मेवारी हो। कान्तिपुर मिडिया ग्रुपसँग सूचनाको पहुँच, स्रोत र त्यसलाई संस्थागत गर्ने क्षमता छ। त्यसका लागि हाल कायम रहेको प्रतिभाशाली न्युजरुमलाई रूपान्तरणको यात्रामा डोर्‍याउँदै ‘कान्तिपुर टेलिभिजन’, ‘द काठमाडौं पोस्ट’ र ‘कान्तिपुर एफएम रेडियो’ सहित कान्तिपुर मिडिया ग्रुपका नेतृत्वकर्ताहरूसँग सहकार्य गर्ने जिम्मेवारी पनि प्रधान सम्पादकको हुनेछ।

यस कारण कान्तिपुर मिडिया ग्रुपले अंगीकार गरिरहेको स्वतन्त्र र साहसी प्रेसको भूमिकालाई निरन्तरता दिन निम्न योग्यता र अनुभव भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको छ।

भूमिका तथा जिम्मेवारी

  • कान्तिपुर दैनिक र ekantipur.com का लागि सम्पादकीय नेतृत्व गर्ने, जसले प्रतिस्पर्धी ‘ब्रेकिङ न्युज’, खोजी रिपोर्टिङ, विश्लेषण र तथ्य जाँचलाई प्रमुख प्राथमिकता दिनेछ।

  • रियल–टाइम कभरेज’, ‘मल्टिमिडिया स्टोरीटेलिङ’ र विश्लेषणमा आधारित समाचार संकलनका लागि नयाँ पत्रकारहरूको नियुक्ति गर्ने तथा समाचार कक्षमा रहेका संवाददाताहरूको परिचालन, समाचार उत्पादन र सम्पादन गर्ने। यो प्रक्रिया अपनाउँदा डिजिटल–फर्स्ट रणनीति अवलम्बन गर्ने।

  • हरेक बिटमा गहिराइ, सत्यता र समयसापेक्ष सूचनाको सुनिश्चितता गर्दै राजनीतिक, सामाजिक, आर्थिक तथा लैङ्गिक विषयमा समाचार कभरेज गर्ने।

  • नेपालका निर्णयकर्ताहरूका लागि कान्तिपुरलाई अपरिहार्य स्रोतका रूपमा स्थापित गर्ने उद्देश्यले दीर्घकालीन सम्पादकीय तथा दर्शक/पाठक रणनीतिहरू तयार गर्ने।

  • दर्शक/पाठकको हित र सेवामा केन्द्रित रहँदै प्रत्यक्ष प्रसारण (लाइभ) पत्रकारिता कार्यक्रमहरूको सिर्जना, सम्पादकीय तथा पत्रकारितासम्बन्धी कार्यक्रम र गतिविधि, निर्धारित कार्यक्रमहरूको निरीक्षण तथा सम्पादकीय प्राथमिकता सुनिश्चित गर्ने।

  • अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त उत्कृष्ट अभ्यासमा आधारित सम्पादकीय मापदण्ड र नैतिक नीतिहरू यहाँ पनि सन्दर्भअनुसार विकास र कार्यान्वयन गर्ने।

  • सम्पादकीय विवाद, कानुनी जोखिम तथा सार्वजनिक संवेदनशीलतासम्बन्धी विषयमा प्रमुख निर्णयकर्ताको भूमिका निर्वाह गर्ने।

  • नेपाल र अन्तर्राष्ट्रिय स्तरमा पाठक, स्रोत, नागरिक समाज, सरकार तथा व्यावसायिक पत्रकार समुदायसँग कान्तिपुर मिडिया ग्रुपको प्रतिष्ठा अभिवृद्धि र संरक्षण गर्ने।

  • नवप्रवर्तन, सहकार्य र जवाफदेहिताको संस्कृतिलाई प्रवर्द्धन गर्दै न्युजरुममा प्रतिभाको विकास गर्ने।

  • समाचार कक्षमा उत्कृष्ट पत्रकारहरूको सहभागिता सुनिश्चित गर्न आवश्यक सरुवा तथा नियुक्ति गर्ने।

  • डिजिटल सीप नभएका तर अनुभवी पत्रकार तथा सम्पादकहरूसँग सहकार्य गर्दै उनीहरूको सीप रूपान्तरणमा भूमिका खेल्ने।

  • न्युजरुममा विविधता कायम गर्न लिङ्ग, जातजाति, भूगोल, उमेर तथा सामाजिक पृष्ठभूमिको सन्तुलन कायम गर्ने।

  • स्टोरीटेलिङ र प्लाटफर्ममा परम्परागत दृष्टिकोणलाई चुनौती दिँदै नयाँ शैली विकास गर्ने।

  • पत्रकारिताको स्वतन्त्रतामा सम्झौता नगरी सम्पादकीय र व्यावसायिक उद्देश्यबीच सन्तुलन कायम गर्ने तथा मार्केटिङ, ब्रान्ड र डिजिटल विभागसँग सहकार्य गर्ने।

अनुभव तथा योग्यता

  • वरिष्ठ नेतृत्वमा कम्तीमा ५ वर्ष र समग्रमा कम्तीमा १५ वर्ष व्यावसायिक पत्रकारिता गरेको अनुभव।
  • आमसञ्चार तथा पत्रकारिता वा मान्यताप्राप्त अन्य विषयमा स्नातक गरेको हुनुपर्ने।
  • नेपालको अर्थतन्त्र, राजनीति, समाज, प्रविधि र युवा पुस्ताको अपेक्षाबारे गहिरो ज्ञान।
  • सम्पादकीय स्वतन्त्रताको संरक्षण गर्दै व्यावसायिक अवसर सिर्जना गर्न सक्ने क्षमता।
  • न्युजरुम वातावरणमा रूपान्तरणको नेतृत्व गर्ने प्रमाणित क्षमता, ढाँचाहरू, दर्शक विश्लेषण र संलग्नता रणनीतिमा व्यावहारिक अनुभव
  • आत्मविश्वासी व्यक्तित्व, बलियो प्रस्तुति तथा नेटवर्किङ सीपको उपयोग गर्दै कान्तिपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्ने क्षमता

आवेदनसम्बन्धी जानकारी

यस आवेदनका लागि तीनवटा कार्य-अभ्यास (असाइनमेन्ट) समावेश गर्नुपर्नेछ।

१. कम्प्युटर टाइप गरी दुई पृष्ठभन्दा बढी नहुने गरी आवेदनपत्र पेस गर्नुपर्नेछ। आवेदनमा यी विषय स्पष्ट उल्लेख गर्नुपर्नेछः

  • तपाईं यो भूमिका लिन किन चाहनुहुन्छ?

  • कान्तिपुर दैनिकको सम्पादकीय नेतृत्व र दृष्टिकोणलाई कसरी विकास गर्नुहुन्छ?

२. आवेदनसँग तपाईं आफै‌ंले गरेका सबैभन्दा गर्व लाग्ने ३ देखि ५ वटासम्म पत्रकारिता वा सम्पादकीय कामका उदाहरण पनि समावेश गर्नुपर्नेछ। प्रत्येक उदाहरणमा किन गर्व लाग्छ भन्नेबारे छोटो टिप्पणी पनि लेख्नुपर्नेछ।

३. कान्तिपुर दैनिकमा हालै प्रकाशित एउटा उत्कृष्ट समाचार र एउटा कमजोर समाचार छनोट गरी त्यसको समीक्षा गर्नुपर्नेछ। उत्कृष्ट समाचारमा के राम्रो गरिएको छ भन्नेबारे रिपोर्टिङ, सम्पादन र डिजाइनका दृष्टिकोणबाट विश्लेषण गर्नुपर्नेछ। कमजोर समाचारमा के कमजोरी छ र त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे पनि स्पष्ट उल्लेख गर्नुपर्नेछ।

पारिश्रमिक तथा सेवासुविधा:

छनोट हुने उम्मेदवारको योग्यता, सीप र अनुभवअनुसार प्रतिस्पर्धात्मक रूपमा प्रदान गरिनेछ।

आवेदन दिने अन्तिम मिति : २०८२ चैत १५

आवेदन पठाउने इमेल: corporate@kmg.com.np

Email Subject: Kantipur Daily Editor in Chief.